नेकपा एमालेका नेता माधवकुमार नेपालसहित १५ जनाले संयुक्त अपिल जारी गर्दै आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका छन्।
आफूहरूलाई नेकपा एमालेमा रहन नदिन अनेक दाउपेच भइरहेको उनीहरूको भनाइ छ।
७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण पार्टी पंक्तिमा एकताका लागि अपिल भन्दै उनीहरूले उल्लेख गरेका छन्, ‘हामीलाई नेकपा एमालेमा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन्।’
झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृत बोहरा र प्रमेश हमालले आज संयुक्त अपिल जारी गरेका हुन्।
उनीहरूले गत फागुन २८ गते अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले गरेका निर्णय फिर्ता लिन माग गरेका छन्।
‘२८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटी बैठक मान्ने कुराले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेचहरू भइरहेको देखाउँछ,’ उनीहरूले भनेका छन्।
उनीहरूले कम्युनिष्ट आन्दोलन रक्षा गर्ने पक्षमा आफूहरू रहेको उल्लेख गर्दै २०७५ जेठ २ गतेको अवस्थामा पार्टी पुग्नुपर्ने मागसमेत अगाडि सारेका छन्।