नेपाली कांग्रेसले प्रदेश २ को नाम 'मिथिला-भोजपुरा' हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।
बिहीबार कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए।
कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेशको नामाकरण ‘मिथिला-भोजपुरा’ हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका हुन्।
उनको प्रस्तावको प्रदेशसभा सदस्य मन्जु कुमारी यादव र प्रमिला देवी दासले समर्थन गरेकी हुन्।
त्यस्तै, राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै पार्टीका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले प्रस्ताव दर्ता गराएका छन्।
उनको समर्थन प्रदेशसभा सदस्य नरेशकुमार यादव र वीरेन्द्र प्रसाद सिंहले गरेका छन्।
कांग्रेसले पछिल्लो पटक समेत प्रदेशको नाम 'मिथिला-भोजपुरा' र राजधानी जनकपुरधाम प्रस्ताव दर्ता गराएका थिए।
यसअघि सत्तारूढ दल जनता सामाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छुट्टाछुट्टै प्रदेशको नाम मधेश प्रदेश प्रस्ताव दर्ता गराएका छन्।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेशको नाम जानकी दर्ता गराइसकेको छ।
प्रदेशको राजधानी भने सत्तारूढ दल जसपा, नेकपा एमाले, नेकपा माओवादी र कांग्रेसले जनकपुरधाम नै दर्ता गराएका छन्।
पछिल्लो पटक समेत सबै दलले राजधानी जनकपुरधाममा समर्थन जनाए पनि निर्वाचनमा भने दुई तिहाइ पुग्न सकेको थिएन।
प्रदेशसभामा कूल १०७ सांसद रहेका छन् जसमा माओवादी केन्द्रले आफ्नो चार जना सांसदलाई पदमुक्त गरिसकेको छ।
हाल सत्तारूढ दल जसपासँग ५६, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र माओवादी केन्द्रसँग ७ जना सांसद छन्।
प्रदेशको राजधानी र नामाकरण पारित गर्नको लागि दुई तिहाइको आवश्यकता रहे पनि कुनै पार्टीसँग दुई तिहाइ छैन।
प्रदेशसभा सचिवालयले आज ३ बजेसम्म प्रदेशको राजधानी र नामाकरणको लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो।