प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले देशव्यापीरूपमा पार्टी खोल्दै हिँडेको आरोप लगाएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पक्षले अर्को पार्टी खोलेर देशव्यापी हिँड्दा पनि कारबाही नगरी सम्झाइ–बुझाइ गरिरहेको बताएका छन् ।
‘भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयास गरिरहेको छु’, उनले भने, ‘यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म हाम्रो प्रयास कारबाही नगरी सम्झाउनेमा छ, सच्याउनेमा छ।’
ओलीले नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिएका छन्। बुधबार साँझ नेपालसँगको भेटलाई उनले सम्झाउने प्रयास गरेको बताएका हुन्।
उनले व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता दिन नसकिने दाबी गरे।