नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने वातावरण बन्न लागेको बताएका छन्।
प्रचण्डले यो कुरा पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकमा भनेका थिए।
उनले ओलीविरूद्ध गठबन्धन बनाउनु वीरबलले खिचडी पकाएकोजस्तै भएको उल्लेख गर्दै अहिले वीरबलको त्यो खिचडी पाक्ने दिशामा गएको बताएका हुन्।
‘अब वीरबलको खिचडी पाक्ने दिशामा गएको छ। संसद अधिवेशन अन्त्य गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाजी पनि कडा रूपमा प्रस्तुत हुनुभएको छ। सरकार बनाउन कांग्रेस तयार भएपछि जसपा पनि तयार हुने वातावरण बन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले सेतोपाटीसँग भने।
प्रचण्डले कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा देखिएका पछिल्ला राजनीतिक घटनाक्रमले पनि ओलीविरूद्ध माहौल बनेको उल्लेख गरेका थिए।
आफूहरूको रणनीति ओलीलाई दिएको समर्थन फिर्ता लिनेभन्दा पनि ओली सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको प्रचण्डको भनाइ थियो।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार १ बजे फेरि बस्दैछ।