नेपाली कांग्रेसले क्रियाशीलको सदस्यता वितरण तथा नवीकरण गर्ने समय थप गरेको छ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र सबै जिल्ला कार्यसमितिलाई क्रियाशीलको विवरण केन्द्रमा पठाइसक्न समय दिएको हो।
वैशाख १५ भित्र क्रियाशीलको विवरण पठाउन केन्द्रीय समितिले निर्देशन दिने निर्णय भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई बताए। आजको बैठकमा राजनीतिक घटनाक्रमबारे छलफल भएको थिएन।
अर्को बैठक छिट्टै बस्ने भने पनि मिति तोकिएको छैन। कांग्रेसले गत चैत ३० भित्र क्रियाशीलको विवरण केन्द्रमा पठाउन भने पनि सात जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु नै नभएकोले समय थप गरेको हो।
कांग्रेसले अन्तिम पटक भन्दै वैशाख १५ सम्म क्रियाशील सदस्यताको काम गर्न समय दिएको छ।