प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूसँग छलफल सुरू गरेका छन्।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका छन्। नेपाल पक्षका सांसदहरूले भने प्रधानमन्त्री ओलीलाई पार्टी एकताको लागि पार्टी अध्यक्षले फराकिलो मन बनाउनुपर्ने सुझाव दिएका थिए।
कतिपय सांसदहरुले प्रधानमन्त्री ओलीलाई विभाजित मन लिएर चुनाव जित्न नसकिने समेत चेतावनी दिएका छन्।
‘यो अवस्थामा हामी चुनावमा जान हुँदैन। पार्टीभित्र एकता कायम गरेर मात्रै चुनावमा जानुपर्छ। पार्टीभित्रको अन्तरसंघर्ष कायमै राखेर चुनावमा जानु भनेको बत्तीमा पुतली होमिएजस्तै हो,’ प्रधानमन्त्रीसँग भएको छलफलबारे एक सांसदले भने, ‘हामीले कहीँकतै चुनाव त जितौंला तर गतिलो परिणाम आउँदैन। त्यसैले, त्यस्तो निर्वाचनमा भाग लिनु र नलिनुको कुनै अर्थ हुँदैन।’
सांसदहरूको भेटमा प्रधानमन्त्री ओलीले आफूले मंसिरमा चुनाव गर्न चाहेको बताएका थिए। जवाफमा सांसदहरूले यही ठाउँमा चुनाव जितिन्छ भनेर ठोकुवा गर्ने ठाउँसमेत नरहेको चेतावनी दिएका थिए।
‘उपत्याकामा हाम्रो बिग्रिएको छ। कर्णाली प्रदेश, सुदूरपश्चिम अनि प्रदेश २ मा समेत उस्तै हालत छ। गण्डकीमा समेत यहीँ जितिन्छ भनेर भन्न सकिँदैन,’ प्रधानमन्त्रीसँगको संवादबारे अर्का एक सांसदले भने, ‘अहिलेको अवस्थामा चुनावमा जानु भनेको २०७४ मा जनताले दिएको मत फिर्ता लिन गएजस्तै हो। चुनाव कसरी जितिएको छ, जित्न कति कठिन छ भन्ने हामीलाई थाहा छ। त्यसैले, पार्टीलाई एकढिक्का बनाएर मात्रै चुनावमा जानुपर्छ।’
छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई एमालेका सबै सांसदहरूको समर्थन रहने/नरहने बारेमा समेत जिज्ञासा राखेका थिए। जवाफमा सांसदहरूले पार्टीभित्रका एक सांसद, एक केन्द्रीय सदस्यसँग छलफल गरेर समाधान खोज्नेभन्दा पनि प्याकेजमै हल गर्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा नभए पनि पार्टीभित्रको विवादलाई ‘डाइभर्ट गर्न मात्रै विघटन’ गरेको बताएका थिए।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गर्दैन भन्नेमा समेत आफू ढुक्क रहेको बताएका थिए। उनले आफूले विकास निर्माणमा थुप्रै काम गरेको समेत दाबी सांसदहरूसँग गर्ने गरेका छन्।
जवाफमा सांसदहरूले यतिधेरै काम गर्न सक्ने प्रधानमन्त्रीले पार्टीका नेताहरू झलनाथ खनाल,माधव नेपाल र वामदेव गौतमलगायतलाई मिलाउन किन नसक्नुभएको भनेर समेत प्रश्न गरेका थिए।
आफूले प्रधानमन्त्री ओलीलाई एउटा रुखको मात्रै नभई वनकै मालिक बन्न सुझाव दिएको सांसद राजबहादुर बुढाले सेतोपाटीलाई बताए।
अर्का सांसद ध्रुव शाहीले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै पार्टीलाई मिलाउन नेतृत्व गम्भीरता देखाउनुपर्ने सुझाव दिएको बताए।
नेपाल पक्षका सांसदहरूलाई पार्टी महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि विभिन्न चरणमा भेट गरेका छन्।