प्रधानमन्त्री केपी ओली सभामुख अग्नि सापकोटासँग आक्रोश पोखेका छन्। शनिबार बालुवाटारमा डाकिएको ‘सर्वदलीय बैठक’मा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले आफूलाई काम गर्न नदिएको बताउँदै आक्रोश पोखेका हुन्।
सभामुखले अराजक, अनैतिक र असंवैधानिक काम गरिरहेको आरोप ओलीले लगाएका छन्।
‘मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले निकै आक्रोश पोख्नुभयो,’ बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सेतोपाटीसँग भने।
लोहनीका अनुसार सर्वदलीय भनिए पनि बैठकमा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपाकै नेताहरू उपस्थित थिएनन्।
प्रमुख प्रतिपक्षी दलको तर्फबाट भने सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत थिए।
ओलीले स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने प्रसंग पनि उठाएको लोहनीले बताए।
त्यसैगरी, कोरोना नियन्त्रणका लागि आफू प्रयासरत् रहेको बताएका थिए।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले छोटो धारणा राखेका थिए।
‘म यहीबीचमा निस्किएँ, खासै केही पनि कुरा भएन,’ लोहनीले भने, ‘कोरोना नियन्त्रणलगायत विषयमा हाम्रो पार्टीको तर्फबाट मैले बुँदागत रुपमा सुझाव दिएको छु।’
कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन, भ्याक्सिन पर्याप्त ल्याउन, जनतालाई औषधी उपचारको व्यवस्था गर्ने, अस्पतालहरूमा उपकरण उपलब्ध गराउनेलगायत विषयमा सुझाव दिएको लोहनीले बताए।
‘तपाईं आफू राजनीतिक अनुभव भएको मान्छे भन्नुहुन्छ, राजनीतिक अवरोध हटाउने काम तपाईं आफैं गर्नुहोस्, राजनीतिक अवरोध हटाउनुस् भनेँ,’ उनले भने, ‘सभामुखसँग सम्बन्ध कसरी सुधार गर्ने भन्ने विषय टुंगो लगाउनुस्।’