वैशाख नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बर राजनीतिक खेलाडी भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको विर्तामोडमा ओलीइतर नेकपा एमालेको समानान्तर कमिटी गठन गर्दै शुक्रबार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक खेलाडी भएको बताए।
ओलीले एकै दिन तीन जना नेतालाई अबको प्रधानमन्त्री बन्न आग्रह गरेको उनले खुलासा समेत गरे।
‘बिहान ११ बजे वामदेव गौतमलाई, १ बजे मलाई र अपरान्ह ४ बजे प्रचण्डलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनी दिनुहोस् भन्दै प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।’ उनी राजनीतिक खेलाडी भएकै कारणले प्रधानमन्त्री ओलीले राजनीतिक खेल खेल्न खोजेको आफूले थाहा पाएपछि उनको आग्रह टेर्नुपर्ने कुनै कारण नभएको नेता नेपालले बताए।
‘ओली झूटको पुलिन्दा र चरम व्यक्तिवादी मानिस भएकोले कसरी विश्वास गर्नु? ,’ नेता नेपालले भने।
आफूसँग असहमत हुने पार्टी नेता कार्यकर्ताको पत्तासाफ गर्ने निरकुंश र अवसरवादी चरित्र ओलीमा मौलाउँदै गएको नेता नेपालको आरोप थियो।
‘केपी ओली राजा ज्ञानेन्द्रको दोस्रो अवतार हुन्‚’ उनले भने, ‘ओलीको निरंकुशताले कम्युनिष्ट आन्दोलननै बर्बादीतर्फ धकेलियो। आफूहरूले एमालेको एकता बचाउन देशव्यापी अभियान सञ्चालन गरेका छौं।’
नेपालका अनुसार ६८ जिल्लामा कमिटी गठन समेत भइसकेको छ।
नेपाल समूहका अर्का एमाले नेता घनश्याम भुसालले केपी ओलीले झापाली कम्युनिष्ट आन्दोलनमाथि गद्दारी गरेको आरोप लगाए।
भुसालले भने, ‘ओलीजस्तो चरम व्यक्तिवादी मानिस अब कुनै नेपाली आमाको कोखबाट जन्मनु हुँदैन। यस्तो अहंकारी र आफूविरूद्ध बोल्नै नदिने मानिस कुनै आमाले जन्माउनु हुँदैन।’
‘ओली कि त झूट बोल्नुहुन्छ, कि त गालीगलौज मात्रै गर्नुहुन्छ। उहाँको भनाइमा कहीँकतै विचार हुँदैन,’नेता भुसालले भने।
नेता भुसालले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै भने, ‘महाकाली सन्धीमा एक अर्ब २० करोड लिएर लिपुलेक र लिम्पियाधुरा भारतलाई बेच्ने ओली आज राष्ट्रवादी हुनु हुनुहुन्छ।’
‘महाकाली सन्धीमा त्यही चुच्चे नक्साको भूगोल नेपालकै हो भन्ने पक्ष त माधव नेपालहरूको थियो तर त्यही सन्धीमा भारतको पक्ष लिने ओली आज चुच्चे नक्सा छाप्दैछन्,’ उनले भने।
ओलीको राष्ट्रवाद नक्कली भएको भुसालले टिप्पणी गर्दै ओली सत्ताका लागि जेसुकै गर्न पनि तयार हुने भुसालले बताए।