संसदको राज्य व्यवस्था समितिले बेवारिसे शव व्यवस्थापन सम्बन्धी पाँच वटा निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले सरकारलाई पाँच निर्देशन दिएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिइन्।
पछिल्लो समय नेपालमा दैनिक औसतमा तीन वटा बेवारिसे शव भेटिन्छन्। जसमध्ये एक काठमाडौं उपत्यकामा र दुई वटा उपत्यका बाहिर भेटिने गरेका छन्। तर कतिपय शवको अभिलेख नै नराखी व्यवस्थापन गर्ने गरिन्छ।
'बेवारिसे शवको संख्या अत्याधिक भएकोले पहिचान गर्न नेपाल प्रहरीले आफ्नो वेबसाइटमा पनि राख्दो रहेछ। तर प्रहरी, सरकारी वकिल कार्यालय र अस्पतालमा भएको विवरणहरू फरक-फरक पर्यो,' मिश्रले भनिन्।
त्यसैले तीनवटै निकायले आवश्यक समन्वय गरेर तथ्यांकमा एकरूपता बनाउन निर्देशन दिइएको छ।
समितिले राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य पनि जति सक्दो छिटो गर्न निर्देशन दिएको छ। परिचयपत्र बायोमेट्रिक प्रणाली हुने हुँदा त्यसलाई वितरण गर्न निर्देशन दिएको हो।
सरकारसँग त्यसको विवरण हुँदा कतै शव भेटिएमा पहिचान गर्न सहज हुने भन्दै परिचय पत्र सक्दो छिटो वितरण गर्न भनिएको हो।
त्यसैगरी, बेवारिसे शवको परिचय खुलाउन नेपाल प्रहरीले आफ्नो वेबसाइटको एक छुट्टै 'क्याटगोरी' बनाएर तस्वीर तथा हुलियाको विवरण राख्ने गरेको छ। तर नेपालभर भएका बेवारिसे शवको तथ्यांकहरू समयमै अपडेट गरिएको पाइन्न।
त्यसलाई पनि व्यवस्थित गर्न निर्देशन दिएको छ।
'प्रहरीको वेबसाइटमा भित्रपट्टिको डोमेनमा राख्ने गरिएको रहेछ। कि त छुट्टै वेबसाइट नै निर्माण गर्नुपर्यो। होइन भने पेजको पहिलो पानामै राख्न निर्देशन भएको छ,' सचिव मिश्रले भनिन्,' जति सक्दो प्रचारप्रसार मार्फत शवहरूको पहिचान गर्न भनिएको छ।'
जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे शवको पहिचानका लागि २० वर्षसम्म अभिलेखमा राख्न निर्देशन दिइएको छ।
'शवहरू जलाउनु अघि पहिचानका लागि पर्याप्त आधारहरू तय गर्ने। प्रचारप्रसार गर्नुपर्ने, औंठा छाप राख्ने, तस्वीर राख्ने लगायत गरेर अभिलेख राख्ने अनि मात्रै व्यवस्थापन गर्ने हो,' उनले भनिन्,' त्यसो हुँदा बेपत्ता भयो भनेर पर्खिएर बस्न परेन। मृत्यु भएको भए अभिलेख गरेर थाहा पाउन सकियो।'
अहिले गृह मन्त्रालयले बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका बनाउँदैछ। सो निर्देशिका पनि यथाशिघ्र पारित गर्न निर्देशन भएको छ। यसरी विभिन्न कार्यहरू गरेर बेवारिसे शव शून्यमा झार्न निर्देशन भएको हो। त्यस सम्बन्धी मन्त्रालयले बनाउँदै गरेको निर्देशिकाको प्ररम्भिक ड्राफ्ट तयार भएको गृह प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
'निर्देशिका बन्ने क्रममा छ। अहिले प्रारम्भिक ड्राफ्ट तयार भएको छ,' बुढाले सेतोपाटीसँग भने।
बेवारिसे भनिएका शवको पहिचान खुलाउन सरकार तथा सम्बन्धित निकायले राम्रो पहल तथा कसरत नगरेको भन्दै केही समयअघि चार पुरूषले माइतीघर मण्डलामा धर्ना दिएका थिए।
काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा व्यवस्थापन पढाउने शिक्षक सुगमजंग केसी, नेपाल कमर्स क्याम्पसका शिक्षक बालनकुमार राजवंशी, व्यवसायी सुनिल महर्जन र ठेकेदार भीमप्रसाद ढुंगाना दुई महिना भन्दा बढी धर्नामा बसेका थिए।
उनीहरूले बेवारिसे भनिएका शवको पहिचान गराउन सरकारसँग माग गरेका हुन्। पहिचान नहुँदासम्म तस्वीर, हुलिया विवरण, बायोमेट्रिकका विवरणहरू राखेर अभिलेख राख्न माग गरेका थिए। त्यस्तै प्रहरीको बेवसाइटमा पहिचान खुलाउन सबै विवरण राख्न भनेका थिए।
यो पनि: ७३ दिनदेखि उनीहरू सोध्दैछन्- यी आमा को थिइन्, यी बा को थिए?