प्रदेश १ संसद्मा जारी विपक्षी दलको अवरोध खुलाउनेबारे आइतबार आयोजित सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ।
सभामुख प्रदीपकुमार भण्डारीले आयोजना गरेको बैठकमा मुख्यमन्त्री शेरधन राई नै अनुपस्थित भएपछि मुख्य विषयमा प्रवेश नै नगरी बैठक सकिएको छ।
संसद्मा मुख्य विपक्षी नेपाली काँग्रेस, विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलहरुले यो वर्षका स्वीकृत कार्यक्रमहरु सुचारू गर्न, चालु विकास आयोजनाहरुहरुलाई निरन्तरता दिन माग गर्दै आएका छन्।
त्यस्तै अलपत्र रहेका वहुवर्षे विकास आयोजनाहरुलाई निरन्तरता दिन पनि विपक्षीहरुले माग गर्दै आएका छन्।
बजेट अभावको कारण देखाएर ती सबै आयोजना रोकिएको भन्दै त्यसको निरन्तरताको माग गर्दै उनीहरुले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका छन्। ‘यही विषयमा सभामुखले मुख्यमन्त्रीसहितको बैठक भनेर हामीलाई बोलाउनुभएको थियो’, माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले सेतोपाटीसँग भने, ‘तर, मुख्यमन्त्री आउनुभएन। उहाँले संसद्लाई त वेवास्ता गर्नुभएकै थियो, सर्वदलीय बैठकलाई पनि वेवास्ता गर्नुभयो। यसले उहाँ समस्या समाधानमा गम्भीर भएको देखिएन।’
मुख्यमन्त्रीका तर्फबाट सर्वदलीय बैठकमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विपक्षीहरुले उठाएको विषयमा मुख्यमन्त्री गम्भीर रहेको जानकारी दिँदै त्यसको जवाफ सदनमा दिने बताएका थिए। तर, विपक्षी दलहरुले मुख्यमन्त्रीको जवाफ होइन समस्या समाधानसहितको सुनिश्चतता खोजेको र त्यसमा सघाउन आफूहरु तयार रहेको बताएका थिए।
‘हामी सरकारलाई उपायमा सघाउन पनि तयार छौं तर मुख्यमन्त्री संसददेखि सर्वदलीय बैठकबाट भाग्दै हिँड्नु भएन, उहाँ जिम्मेवार हुनुपर्यो भन्ने हो’, जसपाका दलका नेता जयराम यादवले भने ।
यसअघि लगातार दुई दिन सदन अवरुद्ध भइसकेको छ। चैत ३० अर्थात भोलिका लागि प्रदेशसभा बैठक डाकिएको छ । समाधानसहितको सुनिश्चतता सरकारले नदिएसम्म सदन चल्न नदिने तयारी विपक्षीहरुको छ ।