नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणका लागि तीन दलको बैठक राखेपछि जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरू छलफल गरेका छन्।
सभापति देउवाले निवास बुढानिलकण्ठमा आज अपरान्ह ३ बजे बैठक बोलाएका थिए। जसपा नेताहरू बुढानिलकण्ठ जानुअघि छलफलमा जुटेका हुन्। उनीहरू अहिले बुढानिलकण्ठ पुगिसकेका छन्।
जसपाका एक नेताका अनुसार पार्टी एक ढिक्का भएर अघि बढ्नेबारे छलफल भएको हो।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पहलमा केन्द्रीय परिषद अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताबीच छलफल भएको हो।
जसपामा नयाँ सरकार बनाउनेबारे दुई धार छ। भट्टराई र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुपर्नेमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले ओलीलाई सघाउन सकिने तर्क पनि राख्ने गरेका छन्।
दुई धार नभई एकढिक्का भएर अघि बढ्नेबारे आज उनीहरूबीच छलफल भएको ती नेताले बताए।
‘कांग्रेसले बोलाएको छलफलमा जानुअघि पार्टी एक ढिक्का भएर जानुपर्छ र एउटै आवाज हुनुपर्छ भनेर छलफल गरिएको हो,’ ती नेताले भने।