प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीले हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको डढेलो नियन्त्रण गर्न हवाइजहाज र हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ठूलो मात्रामा र बिकट जंगलका डढेलोमा दमकल र जनशक्ति पर्याप्त नहुने बताए।
‘अहिलेको जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनुपर्छ,’ उनले भने।
देशमा भएकै हवाइजहाज वा हेलिकप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सोका लागि कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए। यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो।
अहिलको आगलागी र डढेलोलाई गम्भीरतापूर्वक लिँदै आगामी वर्षका लागि समेत तयारी गरिनुपर्ने ओलीले बताए। अहिले देशभित्र सात सय ठाउँमा आगलागी भएकोले यो स्वाभाविक नदेखिने समेत उनले बताए। ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र?,’ प्रधानमन्त्रीको प्रश्न थियो।
आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिनयता आफूले समेत असहज महसुस गरेको बताए। ‘म भन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो?,’ उनले भने।