रेखा थापा नेपाली चलचित्र जगतकी सर्वाधिक चर्चित नायिका हुन्। मोरङकी रेखा १६ वर्षको उमेरदेखि नेपाली सिने क्षेत्रमा सक्रिय छिन्।
नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्। ‘वाहवाही’ कमाइरहेकै अवस्थामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले एउटा मञ्चमै नचाएकी थिइन्, ‘लालुपाते नुहियो भुइँतिर’ गीतमा।
त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो। तर, कुनै बेला माओवादीमा रहेकी रेखा अहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा छिन्।
उनी राप्रपाको महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएकी हुन्। थापा नेपाली रजतपटमा अहिले पनि उतिकै चर्चित नायिकाको रुपमा परिचित छिन्।
रेखा अहिले राप्रपाको संगठन सुधार र राप्रपाको राजनीतिक, वैचारिक ‘लाइन’मा समाहित भइरहेकी छिन्।
यही सिलसिलामा रेखा शनिबार नुवाकोटको लिखु गाउँपालिकामा राप्रपाको गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पुगिन्। उनी संलग्न कार्यक्रमका प्रमुख अतिथि थिए, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी।
राप्रपाको महाधिवेशन वैशाखमा हुँदैछ। रेखा राप्रपाको महाधिवेशनलाई लक्षित गरी नुवाकोट पुगेकी थिइन्। उनकै भनाइमा राप्रपाको महाधिवेशनमा सबै जना आ-आफ्नो ठाउँबाट लागिरहेकै छन्, त्यसैले उनी पनि लागेकी हुन्।
‘अहिलेको राजनीतिलाई दोस्रो पुस्ताले सुधार्नुपर्छ। कुनै पनि सत्ता सञ्चालनमा गाली र गुनासो मात्रै गर्ने हामी मैदानमा नउत्रिए विकृति विसंगति रोकिन्न,’ उनी भन्छिन्, ‘कहाँ कमजोरी छ? जनताको भावना हामीले कहाँनेर बुझिरहेका छैनौं? जनतालाई आश्वासन मात्र दिइरहेका छौं। तर, अब युवापुस्ताले जनताको भावना सम्बोधन गर्न नेतृत्व लिनुपर्छ।’
अहिले मध्यावधि निर्वाचनको हल्ला चलिरहेको छ। निर्वाचन होला भन्ने पनि शंका छ।
थापा त्यसरी चुनाव भए नेतृत्वमा आउन सक्ने क्षमता आफूसँग भएको बताउँछिन्।
‘अहिले नै भनिहाल्ने स्थिति छैन। मैले सोचेको कुरा पनि हैन। पार्टीको निर्णय के हुन्छ, कुनै पनि जिम्मेवारी सम्हाल्न मलाई आपत्ति छैन,ְ’ रेखा भन्छिन्, ‘अहिलेलाई चाहिँ हिजो भएका त्रुटि सच्याउने अवसर छ, ती त्रुटि सच्याउन सम्हालिएर अझ कसरी नयाँ ढंगले जाने भन्ने छ।’
राप्रपाको वैचारिक राजनीतिक उद्देश्य छ- हिन्दु राज्य र राजसंस्था पुर्स्थापित होस्।
त्यो एजेण्डामा लागेकी रेखा भन्छिन्, ‘अब वैकल्पिक शक्ति चाहिएको छ। राष्ट्रियता र देशको आफ्नै सपथ खाँदा पृथ्वीनारायण शाहले गरेको योगदानलाई सम्हाल्ने अवसर छ। हिन्दु राष्ट्रको आन्दोलनलाई पनि सम्बोधन गर्दै लान सक्नुपर्छ। अरु पार्टीका मानिसलाई आउन पनि प्रेरित गर्नुपर्छ।’
अहिलेको परिवर्तित व्यवस्थाले जनताका कुरा कति सम्बोधन गर्न सक्यो भन्दै थापा भन्छिन्, ‘त्यसलाई आत्मसमीक्षा गर्ने कि नगर्ने लाइनबाट हामीले सोच्नुपर्छ। विगतमा त्रुटि भएका छन्। हामी युवापुस्ताको टाउकोमा ती त्रुटिको दोष नपरोस्। सही दिशा दिन सक्नुपर्छ।’
राजसंस्था नै मन नपरे पनि आम नेपाली राष्ट्रवादी शक्तिलाई एकैठाउँमा राखेर त्यो एजेन्डामा छलफल गर्न सकिने थापाले बताइन्।
‘राप्रपा अहिले एकदमै सानो पार्टी होला। जनताले जिश्वास गरेको सन्दर्भमा र हामीले बनाएको सन्दर्भमा त्यो पार्टी ठूलो हुन पनि सक्छ,’ उनले भनिन्।
थापा राप्रपाको प्रवास विभागको अध्यक्ष पनि छिन्। उनलाई यो पार्टीमा रहेर देशको सेवा गर्ने इच्छा रहेछ।
‘हेर्नुहोस् कम्युनिष्टमा पनि बसेर काम गरेँ। होडिङ बोर्डमा एउटा एजेण्डा थियो, तर व्यवहारत: थिएन,’ उनले भनिन्, ‘यहाँ सिद्धान्तले मात्र काम गर्दा रहेछन्। केन्द्रमा जनता र देश हुनपरो। व्यवस्थामा जनताले दु:ख पाउनु भएन। महिलाको मुद्दा मिल्न परो, मेनुमा एउटा कुरा, व्यवहारमा अर्को कुरा हुनुभएन।’
उनको पेशा र रोजाइ कलाकारिता हो। तर, उनी राजनीतिलाई सेवा ठान्छिन्।
‘अहिले राजनीति भन्नेवित्तिकै युवापुस्ताले नाक खुम्च्याउँछन्। म के चाहन्छु भने मेरो उमेर, म भन्दा सानो उमेरका युवालाई राजनीति फोहोरी खेल मात्र हो भन्ने हैन भन्छु। फोहोरी खेल हो भनेर भागिदिने हो भने राजनीति यसरी नै फोहोरी भएर जान्छ, सचेत युवा जमात राजनीतिमा आउनुपर्छ। सबै ठूलो नेता र प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने हैन,’ उनी भन्छिन्।
देश रेमिटेन्सबाट चलिरहने र युवाहरूलाई विदेशमा पठाएर रेमिटेन्स खाइरहने हो भने देश नबन्ने भन्दै थापाले लाखौं युवाले नेपाल आएर रोजगारी खोज्न जरुरी रहेको बताइन्।
‘नेताहरूले सत्ता कसरी सञ्चालन गरिरहेका छन्। डर्टी गेम भनेर हामी पछि परेका छौं,’ उनले भनिन्, ‘हामीकहाँ रहेका तमाम समस्यालाई सम्बोधन गर्न देशको कलाकारले सेवा गर्न नपाउने?’
थापाले अब एकपल्ट नयाँ अनुहारलाई मौका दिनुपर्ने बताइन्। नयाँ अनुहार नभएकाले नै राजनीति गतिहीन भएको उनको भनाइ छ।
‘यति कुरा बिर्सियो भने हामी पछि पर्छौं,’ उनले भनिन्, ‘मेरो पार्टीले नयाँ अनुहारलाई मौका दिनुपर्छ।’ छौं। मेरो पार्टी नयाँ अनुहारलाई।