नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले आगामी दुई महिना देशभरि संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।
शनिबार कलंकीमा बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको एकता र कम्युनिष्ट आन्दोलन बचाउने मूल उद्देश्य साथ संगठन निर्माण र सुदृढीकरण अभियान चलाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए।
‘विशेषगरी २०७५ जेठ २ गते कायम भएका पार्टी कमिटीहरूको पुनर्गठन, पुन:सञ्चालन, बैठक, भेला र प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ,’ भट्टराईले भने।
यसका निम्ति केन्द्रीय सदस्य तथा प्रतिनिधिको रुपमा कार्यविभाजन गरेर दुई महिना नेताहरूलाई जिल्लामा खटाउने निर्णय भएको छ।
यो बीचमा पार्टी एकता रक्षाका लागि देशभरि प्रचार, गोष्ठी र अन्तरक्रिया गरिने भट्टराईले जानकारी दिए।
माधव समूहले वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकतालाई ध्यान दिँदै काठमाडौंमा भव्य कार्यक्रम गर्ने छ।
१३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ।
जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए।
‘यी तीनै वटा सन्दर्भलाई एकताको रुपमा मनाइने छ, एमालेको एकता अत्यन्तै आवश्यक छ,’ उनले भने।
बैठकले फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला अनुसार नै जेठ २ गते पार्टी अध्यक्षलाई पार्टीमा फर्कन आग्रह गरेको भट्टराईले बताए।
तपाईंहरूलाई नै कारबाही गरिरहनु भएको छ उहाँले त भन्ने प्रश्नमा भट्टराईले भने, ‘यो कारबाहीलाई ठूलो रुपमा लिएका छैनौं। उहाँको मनमौजी चलिरहेको छ। यस्ता कारबाही, जेल-नेल र निष्काशनले समस्या समाधान हुँदैन।’
बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको एउटा अवधारणा पत्र प्रतिवेदनमा आएका सुझाव र स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्यले दिएको सुझावलाई अन्तिम रुप दिएको छ। यसलाई प्रकाशित गरेर पार्टीव्यापी वितरणमा लगिने भट्टराईद्ये बताए।
पार्टीमा उत्पन्न भएको अन्तरविरोध, राजनीतिक, सैद्धान्तिक, वैचारिक, कार्यशैलीगत भिन्नतामा उठाइएका कुराहरूहरू समग्रतामा प्रकाशित गरेर पार्टीव्यापी रुपमा प्रशिक्षणका लागि प्रकाशित गरिने भट्टराईले बताए।