नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन्।
अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनले बताइन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा उनले भनिन्,‘तपाईं हाम्रै कारणले गर्दाखेरि हामीभित्रकै कारणले गर्दाखेरि आज हामी कमजोर अवस्थामा पुगेका छौं। हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं। कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफैं, आफैं लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं। त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्मसमीक्षा गर्ने कि नगर्ने र हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढ्नु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमूल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनैपर्छ। हामी रूपान्तरित हुनैपर्छ। हामीले निषेधको राजनीति गुटको राजनीति गर्नु हुँदैन।’
नेता शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताइन्। पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनी गर्नुपर्ने बताइन्।