नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ।
५७ वर्षीय जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
अस्पतालका सञ्चार तथा जनसम्पर्क अधिकृत सोमनाथ बाँस्तोलाले जोशीको निधन भएको बताए।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशीको निधन भएको जानकारी अस्पतालले दिएको बताए। ‘उहाँ रहनुभएन भन्ने खबर अस्पतालले दिएको छ,’ उनले सेतोपाटीसँग भने।
जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो। जोशीको उपचारमा अस्पतालका डाक्टर राजिब झा नेतृत्वको टोली सक्रिय थियो।
जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले बताएको विज्ञप्तिमा उल्लेख छ। जोशीको श्रीमती र एक छोरी छन्।
साथै जोशीको निधनमा कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
‘उहाँको निधनको खबरले मर्माहित छु। कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ,’ देउवाले भनेका छन्।
यसैबीच नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ। भोलि शनिबार बिहान १२ बजेदेखि दिउँसो २ बजेसम्म जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
त्यस्तै, कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकसमेत डाकेको छ । कांग्रेसले नेता जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शनिबारका लागि बैठक डाकेको हो। बैठक बिहान साढे ११:३० बजे बस्ने प्रवक्ता शर्माले जानकारी दिए।