बृहत नागरिक आन्दोलन-२०७७ ले भोलि (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राजनीतिक पार्टीका शीर्ष नेताहरूसँग खबरदारी गर्ने भएको छ।
प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगामी’ राजनीतिका विरूद्ध राजनीतिक दल अन्योलमा रहेकाले आन्दोलनले शीर्ष राजनीतिज्ञसँग खबरदारी गर्ने भएको हो।
आन्दोलनले शुक्रबार विज्ञप्ति जारी गरी राजनीतिक दलका शीर्ष नेताहरूसँग गरिने खबरदारीस्वरूप गरिने अन्तरक्रिया कार्यक्रमबारे जानकारी दिएको छ।
आन्दोलनले डबलीबाट नेपाली कांग्रेस, जनता समाजवादी दल, नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षका शीर्ष नेताहरूसँग अन्तरक्रिया हुने जनायो।
अन्तरक्रियामा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता महन्थ ठाकुर र कांग्रेस नेता मिनेन्द्र रिजाल सहभागी हुनेछन्। त्यसको सहजीकरण प्राध्यापक कृष्ण खनाल र दोभान राईले गर्नेछन्।
‘प्रतिनिधिसभा पुनर्स्थापना भएको एक महिना बिते पनि राजनीति हलो अड्किएझैं अवरूद्ध छ र प्रधानमन्त्री ओलीले बहुमतको दाबी गर्ने नेकपा पनि खारेज भइसकेको स्थितिमा उनले न राजीनामा गर्ने न विश्वासको मत लिने यो बुझिनसक्नु राजनीतिले नागरिक विश्मयमा छन्,’ अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अवरोध किन जारी छ? कहाँ अड्किएको छ हलो? यिनै प्रश्नलाई केन्द्रमा राखेर गाँठो कसरी फुकाउन सकिन्छ र राजनीतिलाई चलायमान बनाउन सकिन्छ भनेर अन्तरक्रिया गर्न लागिएको हो।’
कार्यक्रम दिउँसो २ बजे हुने आन्दोलनले जनाएको छ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै बृहत् नागरिक आन्दोलनले विरोधका कार्यक्रमहरू गरिरहेको छ।
आन्दोलनका अगुवाले यो अन्तरक्रियामा सहभागी भएर शीर्ष राजनीतिज्ञसँग प्रश्न गर्न अनुरोध गरेका छन्।