नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेल ओली समूहतिर लागेका छन्।
बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनी उपस्थित भएका थिए।
‘म चाहिँ अब खनाल-नेपाल गुटमा छैन। एउटै पार्टीको ब्यानरमा सधैं यसरी समानान्तर रूपमा उपस्थित हुन सकिँदैन। त्यसले अब यता लाग्नु पर्छ भनेर आज संसदीय दलको बैठकमा उपस्थित भएको हो’, बैठकपछि उनले सेतोपाटीसँग भने।
उनले खनाल-नेपालले आयोजना गरेको राष्ट्रिय भेला पनि ठिक नभएको बताए।
बैठकमा पनि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउन नहुने र पाँच वर्षको सरकार उनकै नैतृत्वमा चल्नुपर्ने बताएका थिए। उनले बैठकमा बोलेको कुरा राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो फेसबुकमा राखेकी छन्।
'केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फाल्न सक्छौं? फाल्ने हाम्रो योजना छ? छैन। हो छैन भने अब पनि फेरि अरू ढंगबाट हामीले कुनै पनि प्रकारका योजनाहरू यसरी कोठे बैठक बस्न हुँदैन भन्यौं,' उनले भने,' दुई दिनसम्म गोष्ठी भयो। त्यो गोष्ठी गलत ढंगबाट नजाओस् भनेर आफ्नो ढंगबाट प्रयत्न गरेर म यहाँ आएको छु। केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार पाँच वर्षसम्म चलेर नेपाली जनतासँग गरेको संकल्प पूरा गरेर फर्कने दृढ अठोट र विश्वासका साथ म यहाँ आएको छु।'