प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुर्नस्थापित भएपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्नस्थापना गर्ने सर्वोच्चको आदेश सँगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्गप्रशस्त गरिदिनुपर्ने बताएका हुन्। उनले त्यस कार्यतर्फ सदनको ध्यान जानुपर्ने धारणा राखे।
‘सर्वोच्च अदालतले सरकारको कदमलाई असंवैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन? त्यसका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न पर्छ कि पर्दैन ? यता तिर सदन गम्भीर बनोस्,’ उनले भने।
उनले संविधानको जगमा नै बनेको सरकार भएकाले संसदको गतिविधिलाई गतिशिल बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको बताए। तर सरकार बनेदेखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको दाबी उनले गरे। पहिलो दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको सरकारले अग्रमन गरेको छ कि प्रतिगमन गरेको छ भन्दै छातीमा हात राखेर संविधानको किताबमा हात राखेर एकपटक सोच्न आग्रह गरे।
सरकारले सामान्य शिष्टाचार पनि नगरि भूमिगत शैलीमा जनप्रतिनिधिहरुको स्थल संसदको अधिवेशन नै अन्त्य गरेको र हिउँदे अधिवेशन कुर्दै गर्दा आलोचना सुन्नुपर्छ भनेर एलौटी ढंगले प्रतिनिधिसभा नै विघटन गरेको तर्क उनले गरे।
उनले महिला हिंसा तथा एसिड आक्रमणका अपराधीलाई कारवाही गर्ने सवालमा सरकारलाई आफ्नो पार्टीको सधै साथ रहेको स्पष्ट पारे।
‘सरकारले सदनमा कुनै विधेयक अगाडि बढाउन चाहदैन। विल ल्याउन नै चाहदैन। अत्तो थापेर पहिलो बैठकमा ल्याउन पाएनौं त्यसकारण हाम्रो रिर्जभेसन छ भन्नुहुन्छ । एसिड आक्रमणसँग सम्बन्धीत अपराधीलाई कडा कारवाही होस् त्यसका लागि हाम्रो पार्टी सधैं तपाईको साथमा छ,’ उनले भने।
संविधानको प्रावधान विपरित वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई पार्टीले असंबैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद, निरशंकुकताप्रेरित कार्य भनेको स्मरण गर्दे उनले संविधानलाई सफल बनाउने बाहेकको विकल्प कसैसँग नभएको बताए।
उनले आफ्नो पार्टीको संसदीय व्यवस्थाप्रति पुर्ण विश्वास रहेको भन्दै कसैले अधिनायकवाद, सर्वसत्तावाद र तानाशाह ल्याउँछु भनेर नसोच्न चेतावनी दिए।
उनले संविधान र संसदलाई सफल बनाउने विषयमा मनबाट लाग्न पनि सबै दल तथा नेताहरुलाई आग्रह गरे।
‘संविधानलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु र नेपालमा तानाशाह ल्याउँछु, मानसपटलबाट निरंकुशताको दिशामा बढ्छु भन्ने सबै नेताहरु नेपालमा असफल भएका छन् । त्यही बाटोमा अगाडि नबढ्नुहोस्,’ उनले भने।
नेपाली कांग्रेस मधेसको समस्या साधान गर्न र संविधान संसोधन गर्न तयार रहेको प्रसंग उल्लेख गर्दे उनले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि संविधान कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताए।
‘शान्ति सम्झौता र शान्ति प्रक्रियामा हामी पूर्ण प्रतिवद्ध छौ। अहिले पनि हाम्रो कमिटमेण्ट छ । तर जतिखेर यो हलमा अध्याँरो अनुहार लगाएर मलिनो अनुहार लगाएर केही नेताहरु बस्नुभएको थियो । उहाँहरु विभिन्न वहानामा यो शान्ति प्रक्रिया ध्वस्त पार्न । शान्ति प्रक्रियालाई अवरोध गर्न लागिरहनुभएको छ । समय आयो भने ती दल र नेताहरुको नाम पनि भनौला’, उनले भने।
उनले प्रधानमन्त्रीले ९ महिना अघि संसदमा उभिएर ३ महिना भित्र सबै नागरिकलाई कोभिड भ्याक्सिन लगाउने भने पनि अहिलेसम्म नभएको बताए।
‘यसै रोष्टममा आएर सम्माननीय प्रधानमन्त्रीले अब ३ महिना भित्र सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाईने छ । भन्नुभएको थियो । प्रधानमन्त्रीले यहाँ आएर बोलेको कुरा पनि ३ महिना भईसक्यो । कुन चाँही ३ महिना ७७ सालको हो कि? ७८ सालको हो कि? ७९ सालको हो की ? ८० सालको ३ महिना हो? सिमा नभएको ३ महिना हो कि ? १७ लाखलाई भ्यासक्सिन लगाउनुभएको छ । स्टकमा ७ लाख भन्दा बढी छैन । अब सेकेण्ड डोजको लागि त हामीसँग स्टक हुनुपर्थ्यो नि त?,’ उनले भने।
उनले अरूले सुरूवात गरेका योजना पुरा गरेर, भईसकेका कामलाई देखाएर जनतामा भ्रम छर्ने काम नगर्न पनि सरकारलाई सचेत गराए।
‘मेलम्चीको सपना त सन्त नेता कृष्ण प्रसाद भटराईले देख्नुभएको हो नि? त्यो मेलम्चीको पानी आउने भयो सबेलाई धन्यवाद को एकपटक नाम लिन पनि तपाईलाई कन्जुस्याई , मेलम्ची, सुन्दरीजल र संसदमा पनि छैन । पहिलो सभामुख पनि हो । अहिले हामीले ल्यायौं भन्दा काठमाडौंका जनताले पत्याउँछन् कि पत्याउदैनन् गम्भीर हुनुहोस् भनेर पनि म आग्रह गर्छु’, उनले भने,‘डिपिआर गरेको छैन । बजेट छैन । सिलन्यास भईसक्यो धमाधम। वा रे विकास । कागजको विकास । दुई वर्षदेखि मोटर चलेको छ । गाडी कुदिरहेको छ । कालोपत्रेको अहिले उद्घाटन । दुईवर्षदेखि पुलमा गाडि कुदिरहेको छ, अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा, राजमार्गमा सिलन्यास यो कस्तो खालको विकास हो ? कस्तो खालको निर्माण हो?।
उनले राम्रो कामको सुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो गरे।
‘अल्पविकसित र विकसितको बारेमा पनि भूँईचालो नआएको भएदेखि तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाजीकै पालामा भईसकेको हो। अहिले पूर्णता पाएको छ भने पनि मनमोहन अधिकारीको पालामा सुरू भएको छ, उहाँलाई धन्यवाद, भरतमोहन अधिकारीको पालामामा वृद्धभत्ताको सुरूवात भयो, उहाँलाई धन्यवाद। कमसेकम जसको पालोमा इनिसियसन भएको छ, उहाँहरुलाई स्मरण गर्ने त गरौ । उहाँहरुलाई पनि धन्यवाद दिने त गरौ । यस्तो खालको दिउँसै रात पार्ने ढंगमा मुलुक अगाडि नबढोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु,’ उनले भने।
कोभिडका बेला सरकारले श्रमिक, मजदुर ,शिक्षक , प्राध्यापक, पर्यटन व्यवसायी, उद्योगी, याताायत व्यवसायी किसान कसैलाई राहत दिन नसकेको भन्दै उनले ‘राहत पनि भूमिगत गरेको हो कि? ’भनी व्यंग्य गरे।
प्रमख सचेतक खाँडले सरकारलाई श्वेतपत्र जारी गर्न चुनौति दिए। सरकारको नेतृत्व लिदै गर्दा वर्तमान सरकारका तात्कालिन अर्थमन्त्रीले विगतको सरकारले मुलुकलाई ऋणमा डुबाएको बताएको उल्लेख गर्दै उनले अहिलेको यथार्थ अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरे।
‘सरकारको हालत के छ भने ऋण लिएर घिउ खाने। अहिलेको सफल सरकारले यति धेरै ऋण लिएको छ कि नेपालीको टाउकोमा यतिधेरै ऋण कहिल्यै पनि थिएन। सायद उहाँलाई लागेको छ होला । यस्तो स्थिति छ देशमा अब फेरि फर्केर आईन्छ कि आईदैन। अब अहिले ऋण लिउँ तिर्ने बेलामा त अरु आईहाल्छन् । हाम्रो पालामा ऋण लिउँ ध्यु खाउँ अरुले तिरिहाल्छन् नि भन्नु भएको छ भने त केही भन्नु छैन’, उनले भने।
उनले चालु खर्च बढी र पूँजीगत खर्च घटेर विकास कसरी बढ्छ? भनेर प्रश्न गरे। उनले भने, ‘जसरी यो सरकार बन्दाखेरी अर्थमन्त्रीले बढो उत्साहित भएर पूर्ववर्ती सरकारले ऋणै ऋणमा नेपाल पारेको थियो हामीले तपाईँलाई सबैलाई घिउ खुवाउँछौ भनेर भनेर श्वेतपत्र निकाल्नु भएको थियो नि। ह्वाईट पेपर निकाल्नुभएको थियो नि,याद होला नि । त्यो ह्वाईट पेपरमा चाँही छलफल गर्नुपर्यो । श्वेत पत्र भन्ने, यथार्थ पत्र भनेर जारी गर्ने अगाडि अ थपेर अयथार्थ बनाउने ? म त्यत्तिखेर पनि श्वेत पत्र पनि ल्याओस् सरकारले अनि अहिलेको श्वेत पत्र पनि जारी गरोस्।’