महान्यायाधीवक्ता अग्नि खरेलले आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले राजीनामा दिएकोबारे जानकारी गराइसकेको उनले बताए।
‘राजीनामा गर्दा लुसुक्क किन गर्ने? तपाईंहरूकै अगाडि फेस टु फेस गरेर, तपाईंहरूका पनि केही कुरा छन् भने सुनौं भन्ने हिसावले पत्रकार सम्मेलन नै गरेको हुँ,’ राजीनामा दिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने।
उनले तुरून्त वकालतमा नफर्कने बताए। क्रियाशील राजनीति गर्ने संकेत उनको छ।
‘म राजनीतिक जीवनमा क्रियाशील हुन्छु,’ उनले भने।
प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले बदर गरेपछि प्रधानमन्त्री असन्तुष्ट रहेको भन्ने खबरहरू प्रकाशित भएकामा त्यसमा सत्यता नभएको बरू प्रधानमन्त्रीले आफूलाई धन्यबाद दिएको उनले बताए।