नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले आज प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा कुनै सहमति नबनेको बताएका छन्।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको फागुन २८ गते ओलीले एकलौटी गरेका निर्णय फिर्ता गर्नु पर्ने अडान नेता माधवकुमार नेपाल पक्षका नेताले राखेका थिए।
बैठकपछि बाहिरिएका नेता रावलले भने, ‘२८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं। कुरा मिलेन।’
उनले पार्टीका सबै निर्णय साझा रूपमा विधानअनुसार हुनु पर्ने बताए। २८ गतेको केन्द्रीय कमिटीका बैठकका निर्णय रद्द भए भने मिलेर अगाडि बढ्न सकिने उनको भनाइ छ।
सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एमाले ब्युँताइदिएको थियो। आफूहरू पार्टी एकताकै पक्षमा रहेको रावलले बताए।