भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले मंगलबार राजीनामा दिएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार मुख्यमन्त्री रावतले राजीनामा पत्र गभर्नर बेवीरानी मौर्यासमक्ष बुझाएका छन्। भारतीय जनता पार्टी (भाजपा)का मुख्यमन्त्री रावतले सन् २०१७ को भारी मतले चुनाव जितेका थिए।
सोमबार रावतले भाजपाका वरिष्ठ नेताहरूसँग दिल्लीमा भेटघाट गरेका थिए। सरकार चलाउने शैलीबारे गुनासो आएपछि उनले नेताहरूसँग भेटेका थिए।
सन् २०१७को चुनावमा भाजपाले ६९ सदस्यीय उत्तराखण्डको विधान सभामा ५७ सिट जितेको थियो। कंग्रेसले ११ सिट जितेको थियो।
नयाँ मुख्यमन्त्रीको लागि राज्यका शिक्षामन्त्री धनसिंह रावत, सभाका सदस्यद्वय अजय भट्ट र पुस्करसिंह धामीको नाम बाहिर आएका छन्। त्यहाँ सन् २०२२मा विधान सभा चुनाव हुनेछ।
एक वर्षको कार्यकाल रहँदै त्रिवेन्द्रसिंह रावतले राजीनामा दिएका हुन्। केही सासंदहरूले सरकार चलाउने शैलीमाथि उठाएको प्रश्नबाहेक राजनीतिक संकट आउनुको अरू कारण नखुलेको हिन्दुस्तान टाइम्सले जनाएको छ।