नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि सबै देशभक्त र कम्युनिष्ट शक्तिहरू सचेत हुनुपर्ने बेला आएको बताएका छन्।
सोमबार साँझ नेता श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला भनेर प्रश्न समेत गरेका छन्।
नेता श्रेष्ठले यो निर्णय ज्यादै गम्भीर रहेको भन्दै अगाडि भनेका छन्, ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं ।’
सर्वोच्च अदालतले फागुन २३ गते केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपा नामको पक्षमा फैसला गरेसँगै पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको छ।
आजै बसेको प्रचण्डले नेकपाले पनि आफूहरू पुर्ववत पार्टीमा फर्किएर आन्दोलन जारी राख्ने निर्णय गरेका छन्।