प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। सर्वोच्च अदालतको आइतबारको फैसलापछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले स्थायी कमिटि बैठक बोलाएको हो।
प्रचण्ड-नेपाल समूहका नेताले आइतबार अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गरेका थिए।
छलफलमा कानुन व्यवासायीले पुनरावलोकनका लागि जानुपर्ने बताएका थिए।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको नामसँग जुधेको भनेर ओली-प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरेपछि शंकट उत्पन्न भएको छ।
कानुन व्यवसायीको राय अनुसार कसरी अघि बढ्ने भनेर निर्णय गर्न सोमबार स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ
यसअघि प्रचण्ड–नेपाल समूहका नेताले सर्वोच्चको फैसलाका सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गरेका थिए।
आइतबार साँझ नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सर्वोच्चको फैसलाको सम्बन्धमा कानुन व्यवसायीहरुसँग छलफल गरेका हुन्।
छलफलका क्रममा सर्वोच्चको फैसला अनपेक्षित र राजननीतिक प्रकृतिको भएको सुझाव आएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिए।
कानुन व्यवसायीको धारणा सुनेर भोलि स्थायी कमिटीको बैठक राखि पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने उनले बताए। ‘आजको सर्वोच्चको फैसला बारे कानुन व्यवसायी र विज्ञ साथीहरु सँग छलफल गर्यौं । यो आजको फैसला अनपेक्षित जस्तो र बढी राजनीतिक प्रकृतिको फैसला लागेको छ भन्ने सुझावहरु आएको छ। थुप्रै कोणहरुबाट कानुन व्यवसायीहरुले राख्नुभएको छ आफ्नो धारणा। त्यसको आधारमा भोलि पार्टीको स्थायी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौ। यो अपेक्षित थिएन यस्तो फैसला, अनपेक्षित नै हो यो। बढी राजनीतिक प्रकृतिको छ। तर समग्र फैसलाको अध्ययन गरेर, सबै साथीहरु सल्लाह गरेर मात्रै विस्तार पूर्वक आफ्नो धारणा भोलि सार्वजनिक गर्छौ।’
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता बारे सर्वोच्च अदालतमा परेको मुद्दाबारे फैसला गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको हो।