प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ विरुद्धको खोप लगाएका छन्।
नेपाल सरकारले आजदेखि ६५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउका हुन्। उनीहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिएकी हुन्।
खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूसँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गरे। ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’, प्रधानमन्त्रीले भने।
खोप लगाएपछि केहीबेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिनसक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बसेका थिए। त्यसपछि संचारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताए।
आफूलाई खोप लगाएपछिका कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान समेत गरे। ’आत्तिनु पर्दैन, यसबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो नोक्सान भएको छैन’, प्रधानमन्त्रीले भने।
शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाएलगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमा कार्यरतहरुले पनि खोप लगाएका थिए।