नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहमतिमा देशको विकास र समृद्धिको सपना लुकेको बताएका छन्।
सरकारसँग ऐतिहासिक सहमति गरेपछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कुनै एक पार्टी र सरकारसँग मात्र नजोडिएको भन्दै यसमा देश विकास र समृद्धिको सपना लुकेको बताएका हुन्।
‘यो सहमति केवल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र होइन, यो सहमति भित्र नेपाल देशलाई सवल, समृद्ध, स्वाभिमानी बनाउने सपना लुकेको छ’, उनले भने।
कम्युनिष्ट भनेका विद्रोही मात्र नभएर शान्तिका दूत पनि भएको उनले बताए।
सरकारसँग गरेको तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिवद्ध रहेको भन्दै उनले यसलाई पूर्ण रूपमा पालना गर्ने बताए। ‘हामी प्रतिवद्ध छौं, यसलाई पालना गर्छौं’, उनले भने।
उनले नेपाली समाजको रुपान्तरण पूर्ण नभएको भन्दै उत्पीडित समुदाय अझै सन्तृष्ट हुन नसकेको बताए।