नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले आफ्नो पार्टीको ढोका ढक्ढक्याइरहेको बताएका छन्।
बिहीबार उनले प्रधानमन्त्री पदले ढोका ढक्ढक्याइरहे पनि कांग्रेसले ढोका खोलेर ग्रहण गरिनसकेको बताएका हुन्।
त्यसलाई सयंमतापूर्वक झ्यालबाट हेरिरहेको उनको भनाई छ।
'प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढकढक्याइरहेको छ। तर कांग्रेसले ढोका खोलेर प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको छैन। हामी सयंमतापूर्वक झ्यालबाट हेरिरहेका छौं,' उनले भने।
पदको प्रस्तावहरूमा कुन रूपमा प्रस्तुति राख्ने भन्ने पनि निर्णय नभएको उनले बताए। प्रस्ताव भने दुबै तर्फबाट आएको उनले जानकारी दिएका छन्।
'प्रस्तावहरूमा कुन रुपमा प्रस्तुति राख्ने भन्ने निर्णय भइसकेको छैन। दुबै तर्फबाट प्रस्ताव आइरहेको छ,' उनले भने।
त्यस्तै, विप्लव समूहसँग वार्ता गरी प्रतिबन्ध फुकुवा गर्ने निर्णय सकारात्मक भएको शर्माले बताए।
आज बसेको काङ्ग्रेस पदाधिकारी बैठक सकिएको छ। बैठकले कुनै ठोस निर्णय गरेन। भोलि १ बजे संसदीय दलको बैठक बस्नेछ।