प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ।
बुधबार पेरिस डाँडामा बसेको पार्टी स्थायी कमिटि बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।
‘लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौं। यसका लागि हामी सरकार नेतृत्वको लागि खुला छौं’, नेता भीम रावलले भने, ‘अब छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लान्छौं। छलफल गर्दा प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौं।’
यस्तै आजको बैठकले आगामी २३ गते बस्ते प्रतिनिधि सभाको बैठकमा कसरी जाने भन्ने बारेको निर्णय गर्न पार्टी सचिवालयलाई जिम्मा दिएको छ।
बैठकले सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको हो।
नेता रावलले प्रतिनिधिसभा गठन गर्ने असंवैधानिक कदमको विरोध गर्ने दलहरूसँग सहकार्यका लागि सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको जानकारी दिए।
संविधान र गणतन्त्रको रक्षा तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीलाई अन्त्य गर्न सवै दलसँग सहकार्यका लागि खुला रहेको उनले बताएका छन्।