मोरङको सुनवर्षी नगरपालिका- ८ का वडाध्यक्ष नुरूल मियाले दोहोरो नागरिकता लिएको खुलेको छ।
वडा सदस्यहरू पत्रकार सम्मेलन गरि वडाध्यक्ष मियाले नेपाल र भारत दुबैतर्फबाट नागरिकता लिएको विवरण सार्वजनिक गरेसँगै उनले दोहोरो नागरिकता लिएको खुलेको हो।
पत्रकार सम्मेलनमा सार्जजनिक गरिएको विवरण अनुसार मियाले भारतीय आधार कार्ड ७०५४९२०३५५७० क र भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड लिएका छन्।
उक्त आधार कार्डमा मियाको जन्ममिति १९७९ जनवरी १ (२०३५ पुस १७) राखेका छन्।
उनले आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गर्दै आएका छन्। मियाले भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको खातासमेत खोलेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएम समेत लिएका छन्। सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया राखेका छन्।
यता नेपालमा नुरूल मियाले वंशजकै आधारमा नागरिकता लिएका छन्।
यता नेपाली नागरिकतामा भने मियाँको जन्म मिति २०३६ वैशाख २० गते लेखिएको छ।
२०५५ असार ५ गते निकालेको ६११८ नम्बरको नागरिकतामा उनले जन्मिमिति २०३६ वैशाख २० गते राखेका छन्।
स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यको सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा मियाको दोहोरो नागरिकताबारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरीसमेत हालेका थिए।
यस्तै वडा अध्यक्ष मियाले जनता आवासलगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै वडा सदस्यहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा समेत दर्ता गरेका छन्।
प्रधानमन्त्री जनता आवास कार्यक्रम अनुसार सुनवर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो । तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टीमेट अनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटा र सम्पर्क कार्यालय इटहरीमा उजुरी हालेका हुन्।
जनता आवास कार्यक्रम अनुसारको घर निर्माण गर्न वडा अध्यक्ष नुरुल मियाकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको थियो।
वडामा हुने सम्पूर्ण योजना वडा सदस्यहरुसँग समन्वय नगरि आफूखुसी गर्ने र नगरपालिकाबाट अनुगमनमा आउँदा आफूहरुलाई समस्य पर्ने गरेको वडा सदस्य कन्हा मियाँले बताए।
विकास निर्माणहरुमा वडामा एउटा निर्माण हुन्छ अध्यक्ष नुरुलले अर्के काम गर्ने आफू अनुकुल उपभोक्ता समिति बनाएर अर्कै काम गर्ने गरेको वडा सदस्य कन्हौलाल गन्गाईले जानकारी दिए।