मोरङको उर्लाबारी-९ मा रहेको सन्थाल बस्तीमा निर्माण गरिने १३२ घर र सामुदायिक भवनको मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्।
बाल्यकालको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मेरो बाल्यकालको अधिकांश समय सन्थालसँग बितेको हो।’
उनले सन्थालसँगै बसेर भैंसी चराउने, माछा मारेर दिन बिताउने गरेको पनि सुनाए।
‘मलाई धनु वाण चलाउन पनि सन्थाल युवाले त्यसबेला सिकाएका हुन्,’ उनले भने, ‘मलाई सन्थाल भाषा पनि आउँछ। त्यो पनि सन्थालबाटै सिकेको हुँ।’
प्रधानमन्त्री ओलीले चाडवाडमा खास गरेर दसैंमा बजाउने सन्थाल बाजाको संरक्षणका लागि एक लाख रुपैयाँ घोषणा गरे।
यहाँको मात्र होइन अन्य जिल्लामा रहेका सन्थाल जातिको पनि सरंक्षण गरिने प्रधानमन्त्रीको भनाइ छ।