पशुपति नाथ मन्दिरमा सुनको जलहरी प्राण प्रतिष्ठाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति पुगेकी छन्।
चाँदीको हटाएर सुनको जलहरी राख्नका लागि आयोजित प्राण प्रतिष्ठाका लागि राष्ट्रपति भण्डारी पशुपति पुगेकी राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण आएका छन्।
उनीहरू केही दिनदेखि पूजापाठ गरिरहेका छन्। भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले जानकारी दिए।
केसीका अनुसार राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने छ। यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो।
करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए।
यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए।
पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरी राख्न लागेको भन्दै स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारी लगायतले विरोध गर्दै आएका छन्। २०७० सालमै चाँदीको जलहरी हटाएर सुनको राख्ने निर्णय भएको थियो।