सर्वोच्च अदातलतले मंगलबार गरेको प्रतिनिधिसभा पुनःस्थापना फैसलाको सुर्खेतमा दीप प्रज्वलन गरी स्वागत गरिएको छ।
प्रचण्ड-नेपाल समूहको नेकपा समर्थित युवा कार्यकर्ताहरूले वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा दीप प्रज्वलन गरी प्रतिनिधिसभा पुनःस्थापनाको खुसियाली मनाएका छन्।
दीप प्रज्वलनमा बोल्दै प्रचण्ड-नेपाल समूहको नेकपाका वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष गंगाराम तिमिल्सेनाले संविधानको मर्म अनुसार सर्वोच्चले फैसला गरेको बताए।
‘यो सर्वोच्चको फैसलाले आम नागरिकको जित भएको छ, संविधानको सम्मान भएको छ,’ उनले भने, ‘प्रतिगामी कदमलाई सर्वोच्चले बहिष्कार गरेकोमा हामी खुसी छौं।’
उक्त समूहका सांसद सुशीलकुमार थापाले सर्वोच्च अदालतको फैसलाले नेपाली न्यायालयप्रति जनताको विश्वास बढेको बताए।
‘अहिलेसम्म विश्वको नजरमा परेको यो प्रतिगामी कदमका विरुद्ध सर्वोच्चले फैसला गरेको छ, यसले गर्दा जनताले म अन्यायमा परेँ भने न्यायालयले न्याय दिन्छ भन्ने विश्वास गर्न थालेका छन्,’ थापाले भने।