सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा आफ्नो ७० औं जन्मदिन मनाउँदै थिए।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए, जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्तै सदर गरिदिएकी थिइन्।
त्यसयता दुई महिना लामो बहसपछि संवैधानिक इजलासले मंगलबार संसद विघटनको निर्णय बदर गरेको हो।
मंगलबार नै प्रधानमन्त्री ओलीको जन्मदिन परेको थियो। २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका प्रधानमन्त्री ओली अदालतको फैसला आउँदा बालुवाटारमा आफ्नो परिवारसँग थिए।
परिवारका सदस्यहरूले सगुन अन्डा, सगुन माछा र सगुन द्यौ खुवाएर उनको ७० औं जन्मदिन मनाएका थिए। जन्मदिन समारोहमा प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यसहित परिवारका थोरै सदस्यहरू सहभागी थिए।
प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसादले टीका लगाइदिएका थिए। त्यसैबीच उनले पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूतिहरू’ को विमोचनसमेत गरे।
उनले मंगलबारै बाल मन्दिरका बालबालिकाहरूसँग पनि आफ्नो जन्मदिन मनाए। उनले ६ महिनाकी बालिका आरती उपाध्यायलाई केक खुवाएका थिए। केक काटेपछि उनले दही सगुन लिएका थिए।