प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र साहसिक भनेका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सर्वोच्चको न्यायिक फैसलाले अधिनायकवादको ठाउँ नरहेको पुष्टि गरेको समेत बताए।
‘निरकुंश शासकले अब ठाउँ पाउँदैनन् भन्ने प्रमाणित भएको छ। असंवैधानिक कदम चाल्ने जो कोही पराजित हुन्छन् भन्ने स्पष्ट भएको छ,’उनले भने,‘असंवैधानिक कदमविरूद्धमा उभिएका जनता, नागरिक समाज,प्रेस सबैलाई धन्यवाद दिन चाहन्छु।’
अदालतले संविधानका धारा-धारा हेरिकन फैसला गरेको र आँटका साथ १३ दिनभित्र बैठक बोलाउनु भनेर आदेश दिनु अर्को सकारात्मक कदम रहेको उनले बताए।
‘अब हामी संयुक्त सरकार बनाउनका लागि पहल गर्छौं। हामीले अरू पार्टीसँग मिलेर जान्छौं भनेर भनेका छौं। हामी त्यही अनुसार अघि बढ्छौं,‘उनले भने,‘संसद पुनर्स्थापना भएमा सांसदको किनबेच हुन्छ भनेर प्रधानमन्त्री ओलीले झूटको खेती गरे पनि हामी त्यसलाई सफल हुन दिँदैनौं। हामी सबै दल मिलेर जान्छौं।’
प्रधानमन्त्रीले झूटको पुलिन्दा बनाउने गरेको भन्दै उनले संसदलाई अस्थिरताको थलो बन्न नदिने दाबी गरे।