विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ।
उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ गरी परिसर ल्याइएको छ।
काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाउने तयारी भइरहेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए।
बाँस्तोलालाई केही समयअघि ललितपुर परिसरले पक्राउ गरेको थियो। उनलाई बिनाकारण थुनामा राखिएको भन्दै अनिमा बाँस्तोला भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो।