प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ।
प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रूपमा असंवैधानिक र वदनियतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ।
यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेसनको मिति तय गरेको छ। यसै सेरोफेरोमा न्यूज एजेन्सी नेपालले कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग गरेको कुराकानीको सम्पादित अंश:
कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन। के कांग्रेस संवैधानिक संकटतर्फ उन्मुख हुँदै गएको हो?
केही संकटमा गएको छैन। संविधानले नै दिएको व्यवस्था हो। त्यो व्यवस्थालाई हामीले सहज रुपमा उपयोग गर्न सक्छौं। हामीले के कुरा विर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो त्यो सम्पन्न गर्नको लागि देश एक वर्ष नै कोभिडमय रहयो। त्यसमा पनि करिब ५ महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो।
लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरु सक्रिय हुने अवस्था थिएन। त्यो समय हामीले गुमायौं। त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नको लागि कठिनाइ उत्पन्न भयो।
हेर्नुस् भिडिओ:
त्यसैले हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नको लागि उपयोग गर्नुपर्ने आवश्यकता पर्यो। त्यसमा पनि संसद विघटन पछि जुन हाम्रो विरोधको निरन्तर श्रृङ्खला पार्टीले सञ्चालन गर्यो त्यो कारणले हामीले माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरुलाई दिएका थियौं आन्दोलनको कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन।
त्यसकारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता पर्यो। त्यसपछि छानविनको प्रक्रिया आउँछ। छानविनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशिल सदस्यता सार्वजनिक गरेपछि अधिवेसन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेसनको श्रृङ्खला शुरु हुन्छ। महाधिवेसनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं।
त्यसोभए भदौ ७ गते कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो?
होइन हाम्रो समय सकिनेभन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौं।
कोभिड लगत्तै प्रतिनिधि सभाको विघटनमा जानुपर्यो भन्नुभयो। तर कांग्रेस आन्दोलनमा हो कि चुनाव प्रचारमा हो?
नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो। जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिलेपनि नेपाली कांग्रेसले स्वीकारेको छैन। त्यो हाम्रो सिद्धान्त, विचार हो। जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वभाविक हुनसक्छ तर नेपाली कांग्रेसको लागि स्वभाविक हुँदैन।
त्यसो हुनाले जनतामा जाने, देशको बस्तुस्थितिको बारेमा जनतालाई सुशुचित गर्ने कुराहरु महत्वपूर्ण हुन। कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन गर्यो। हामीले जनतालाई खर्च गरेर काठमाडौंमा आउ भन्नुको सट्टा हामी जिल्ला जिल्लामा वडा वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम जनतामा पुर्याउन सफल भयौं।
त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरु दलले गरेको जस्तो खासगरी कम्युनिष्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो त्यस अर्थमा हामी स्वस्फुर्त रुपमा विरोधका कार्यक्रमहरु गर्यौं। यद्यपी यसमै हामी रोकिन्छौं भन्ने होइन। विरोधका ठूला कार्यक्रमहरु पनि हामी गर्न सक्छौं। त्यो गर्दा पनि जनताको स्वस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौं।
सभापति शेरबहादुर देउवाले विरोध सभामा बारम्बार अदालतको निर्णयलाई कुरौं तर तपाईंहरु चुनावको तयारीमा लाग्नुहोस् भन्ने अभिव्यक्ति दिनुभएको छ। यसले त कसरी आन्दोलन गरेको भयो ?
होइन, अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाउ भन्यो भने हामी तयारीबिनाको अवस्थामा रहने कुरा हुँदैन। जुनसुकै बाटो आदालतले निर्देश गर्छ त्यसको लागि हामी तयार हुनुपर्छ भन्नेपनि हामीलाई लागेको छ।
यसअर्थमा पनि सभापतिले पुनर्स्थापना होस त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्यो भने त्यो निर्णयलाई हामी अवेज्ञा गर्न सक्दैनौं। जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाइ उपयुक्त नै हो।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनामा जोड दिनुभएको छ। तर सभापतिले चुनावलाई जोड दिनुभएको छ।
व्यक्तिगत रुपमा कुनै नेताले के भन्नुभयो त्यो महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा के हो भने कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ त्यो महत्वपूर्ण हो।
केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौं। जनताको तहसम्म पुग्छौं भनेर भनेको कुरा महत्वपूर्ण हो। त्यसैमा पार्टी हिडेको छ। सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिको लागि हामी तयार हुनुपर्छ र पुनस्थापना नै भएपनि ढिलो चाँडो जनतामै जानुपर्छ अव डेढ वर्ष पछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो।
संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दै गर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दवाव दिन हुन्छ कि हुँदैन ?
त्यसैले त हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ। हाम्रो बुझाइमा संविधानका सबै स्टेप पूरा नगरिकन विघटन भयो। तर त्यसको अन्तिम निक्र्यौल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ।
यदी हामी संविधानको कुरा गछौं भने फेरि अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं। त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं। हाम्रो मतभिन्नता हुनसक्छ। सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ। तर त्यो निर्णयलाई हामी मान्दै मान्दैनो भन्न चाहिं हामी सक्दैनौं। त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ।
अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो?
यो लड्डुको कुरै होइन। यो कसले भन्यो मलाई थाहा छैन। दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु। मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ। भनेको मतलब जनता लाभांवित हुनुपर्छ। जनताप्रति प्रतिवद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो। जनताको आवश्यकता पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन। त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ की हुँदैन कुन पार्टीको हातमा लड्डु हुन्छ कसको हातमा लड्डु हुन्छ त्यो महत्वपूर्ण कुरा होइन।
मूल कुरा जनता मजबुत हुन्छन् कि हुँदैनन, जनता अधिकार समपन्न हुन्छ की हुँदैन जनताको आवश्यकता, पीरमर्का प्रति सत्ता संवेदनशील छ कि छैन त्यो महत्वपूर्ण कुरा हो। त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिष्ट साशनकाल गफमय भयो कुरामय भयो काममा पटक्कै ध्यान दिनुभएन।
नेकपाको दुवै पक्षले सभापतिलाई विभिन्न अफर गरेका छन् भन्ने सुनिन्छ नि!
कुनैपनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ। त्यो मेरो सरोकारको विषय होइन हामीले जे भनिराखेका छौं भनिरहेका छौं भन्नुभएको छ। कांग्रेस मुलभुतरुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ।
जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तात्कालीन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा कांग्रेसको नेतृत्व छैन। पटक्कै अलमल हुनुपर्ने अवस्था छैन। अब ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ।
हेर्नुस् भिडिओ: