आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ।प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।
यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका छन्। आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका थिए। तर सभामुखले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका छन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/NewFolder/Pradesh1.jpg)
यता मुख्यमन्त्री र उनी पक्षका सांसदको बैठक मुख्यमन्त्री कार्यालयमा जारी छ। बैठकमा सदन वहिष्कार गर्ने कि, बैठक अवरोध गर्ने? भन्ने विषयमा छलफल भइरहेको छ। यद्यपी कुनै निष्कर्षमा पुगेका छैनन्। बैठक जारी छ।
मुख्यमन्त्रीले बैठक रोक्न र अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दिएको दबाब नमानेपछि सरकारले यस्तो विकल्पको खोजी गरेको हो।
सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न मुख्य मन्त्रीले आग्रह गरे पनि सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भनेका थिए।
मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ। यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्।
आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए। त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए।
तर, सभामुख र अर्को पक्षले मुख्यमन्त्रीको प्रस्ताव नमानेपछि बैठकमा सरकारी पक्षले अवरोध गर्दै आएको छ।