नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका युवा संघले साइबर सेना गठन गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवा संघले पार्टीका सबै कमिटीमा साइबर सेना गठन गर्ने तयारी गरेको हो।
संघका अध्यक्ष बचनबहादुर सिंहले मुलुकको स्वाधीनता र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीका सबै कमिटीमा साइबर सेना बनाउने बताएका हुन्।
उनले यो कुरा शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमा भनेका थिए। उनले युवा संघमा चैत मसान्तभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने पनि जानकारी दिएका छन्।
साथै सरकारले गरेका लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन संघका नेता तथा कार्यकर्तालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरिएको उनले बताए।
नेकपा ओली पक्षका नेता महेश बस्नेतले यसअघि साइबर सेना बनाउने बताएका थिए। बस्नेत युवा संघ ईञ्चार्जसमेत छन्।
(राससको सहयोगमा)