प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख नै सरकारविरूद्ध लागेको आरोप लगाएका छन्।
शनिबार विराटनगरमा आयोजित जनसभामा सम्बोधन गर्दै उनले सरकारविरूद्ध मुद्दा हालेको भन्दै सभामुख सरकार विरोधी झगडिया भएको बताएका हुन्।
‘सभामुखले झगडिया हुन सुहाउँछ? सभामुख ठानेको झगडिया हुनको लागि हो?’, उनले भने।
सभामुखजस्तो मान्छे किर्ते सनाखत गरेको भन्दै उक्त कुराप्रति आफू लज्जित भएको बताए।
‘उहाँले किर्ते सनाखत गर्नुभएको छ। सभामुखजस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ। साढे ३ बजे दर्ता गर्न लगेको कुरालाई १० बजे आएको भनेर सनाखत गर्नु जस्तो लज्जास्पद कुरा के हुन सक्छ एउटा सभामुखजस्तो मान्छेलाई।’
उनले उपराष्ट्रपति नन्दबहादुर पुनको पनि आलोचना गरे।
उपराष्ट्रपति सरकारविरूद्ध भाषण गर्दै हिँडेको भन्दै प्रधानमन्त्रीले आपत्ति जनाए।
उनले भने, ‘उपराष्ट्रपतिजी सरकारविरूद्ध भाषण गरेर हिँड्नुभएको छ। उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो अब त कमसेकम चुनावतिर आउनुस्।’