प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले संसद पुनर्स्थापनामा प्रश्न नै नभएको बताएका हुन्।
उनले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता दिने पनि दाबी गरे।
‘निर्वाचन आयोगमा परिस्थिति अलि सङ्लियो भन्ने लागेको छ,’ दाहालले भने।
पछिल्लो राजनीतिक अवस्था र आन्दोलनबारे जानकारी दिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
बैठकमा बोल्दै अर्का अध्यक्ष माधवकुमार नेपालले ओली पक्षले जे-जस्ता तर्क गरे पनि निर्वाचन आयोगको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका थिए।
शुक्रबार नै प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको बहस सर्वोच्च अदालतमा सकिएको छ। अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भन्दै प्रचण्ड-नेपाल समूह विश्वस्त छ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूह आन्दोलनमा छ। ओलीलाई यो समूहले आफ्नो समूहबाट हटाइसकेको छ।
ओली नेतृत्वमा अर्कै नेकपा छ। दुबै नेकपाले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गरेका छन्।
आफूहरूले आफ्नो पक्षका २ सय ८८ केन्द्रीय समिति सदस्यको नागरिकता संकलन गरेको केन्द्रीय सदस्य दुर्गा चापागाईँले सेतोपाटीलाई जानकारी दिए।
चापागाईँका अनुसार तत्कालीन नेकपा–एमाले र माओवादी एकीकरण हुँदा ४४१ केन्द्रीय सदस्य थिए। यसमध्ये केही सदस्यको मृत्यु हुनुका साथैं केहीले राजनीतिक तथा संवैधानिक नियुक्ति पाएपछि नेकपामा ४२९ केन्द्रीय सदस्य छन्।