प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ। १६५ को (ख)मा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने अवस्था छ।
परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।
बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द 'विप्लव' को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।
परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो।
