नेपाली कांग्रेसका कार्यकर्ताहरूले बैतडीकी किशोरी बलात्कार-हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन्।
नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिको अगुवाइमा कांग्रेस कार्यकर्ताहरूले बानेश्वरमा धर्ना तथा प्रदर्शन गरेका हुन्।
सम्पर्क मञ्च समितिका सभापति बाबुराम आचार्यले कसैकी, छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताए।
उनले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई अनुसन्धान गरी कारबाही नगरिएकोमा दुःख लागेको भन्दै उनले भागरथीको बलात्कार र हत्या गर्ने अपराधी कानुनी कठघरामा ल्याउन माग गरी प्रदर्शन गरिएको बताए।
प्रदर्शनका क्रममा कांग्रेस कार्यकर्ताहरूले भागरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, महिला हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गरजस्ता प्ले कार्ड र ब्यानरहरू बोकेका थिए।
बलात्कार र हत्याजस्त जघन्य अपराध गर्ने जोकुकै भए पनि कडा कारबाही गर्नुपर्ने माग आफूहरूको रहेको भन्दै आचार्यले डर-त्रासविहीन ढंगले हिँडडुल गर्ने वातावरण बनाउन नसकेकोमा सरकारको आलोचना गरे।
सहभागीहरूले बलात्कारजस्तो जघन्य अपराध दिनानुदिन बढ्दै गएकोले राज्यले रोकथामका लागि विशेष योजना बनाउनुपर्ने बताएका थिए।
प्रदर्शनमा सहभागीहरूले बलात्कारी र हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोमा आक्रोश पोखेका थिए।
उनीहरूले निर्मला पन्तका बलात्कारी र हत्यारा उम्किएजस्तै भागरथीका हत्यारा पनि उम्कन सक्ने हुँदा त्यसतर्फ आवश्यक कदम चाल्न सरकारलाई दबाब दिएका थिए।