नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रिलाई गरिएको पक्राउविरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट परेको छ।
झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको झाँक्रीका अर्का वकिल गोविन्द बन्दीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। अधिवक्ता बन्दीका अनुसार दुबैको कदमविरूद्ध सर्वोच्च अदालतमा रिट दिने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै राजनीतिक अभिव्यक्ति दिँदा रिसइबी साँधेर प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको रिटमा उल्लेख छ।
उनलाई बद्नियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दिइएको उनले बताए।
यसअघि आजै प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा झाँक्रीलाई पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।
अहिले झाँक्रीलाई महानगरीय अपराध महाशाखा मीनभवनमा राखिएको छ।