नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेका छन्।
बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यामा संलग्नलाई छिटो पक्राउ गर्न नेता लेखकले गृहमन्त्री थापालाई ध्यानाकर्षण गरेका छन्।
आज गृहमन्त्री थापालाई भेटेर लेखकले अहिलेसम्म पनि भागरथीको हत्यारालाई प्रहरीले पक्राउ नगरेको र उनको शव परिवारले नबुझेको विषयमा ध्यानाकर्षण गराएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए।
बैतडीको दोगडाकेदारमा गत बुधबार १७ वर्षिय भागरथीको बलात्कारपछि हत्या भएको थियो। उक्त घटनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन दिन कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकको नेतृत्वमा प्रतिनिधि खटाएका छन्।
घटनास्थल जानुअघि लेखकले गृहमन्त्री थापालाई भेटेका हुन्।
‘तत्काल घटनास्थलमा गृह मन्त्रालयबाट उच्चस्तरीय टोली खटाउन’ लेखकले गृहमन्त्री थापासँग माग गरेका छन्।
गृहमन्त्रीलाई भेट्न लेखकसहित कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द, महासमिति सदस्य उत्तरबहादुर ऐर, महाधिवेशन प्रतिनिधि दिनेश भट्ट र नेविसंघ पूर्वकेन्द्रीय सदस्य जनक भट्ट पुगेका थिए।
उक्त भेटमा गृहमन्त्री थापाले अनुसन्धानलाई तीव्रता दिइएको र छिट्टै अपराधी पक्राउ पर्ने बताएका थिए। थप अध्ययन गर्न मन्त्रालयका तर्फबाट उच्चस्तरीय टोली पठाउने गृहमन्त्री थापाले प्रतिवद्धता जनाएको भट्टले जानकारी दिए।