नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठगीधन्दा चलाएको आरोप लगाएका छन्।
प्रतिनिधि सभा विघटनविरूद्ध उक्त समूहले बुधबार राजधानीमा गरेको जनसभामा बोल्दै प्रचण्डले तीन वर्षको संगतबाट आफूले ओलीको ठगी धन्दाबारे राम्ररी थाहा पाएको बताए।
पछिल्लो समय प्रधानमन्त्री ओलीले चितवनको माडी, जुन प्रचण्डको निर्वाचन क्षेत्र पनि हो, रामको जन्मभूमि भएकाले त्यहाँ मन्दिर बनाउने घोषणा गरेका छन्। त्यसका लागि उनले राम र सीताका मूर्ति पनि बनाइसकेका छन्।
प्रचण्डले भने प्रधानमन्त्री ओलीको यो ठगी र नाटकमात्र भएको बताएका छन्।
'चितवनमा मेरै क्षेत्रमा ओलीले अयोध्या बनाउँदै छु भनेका छन्। मलाई त्यो ठगी र नाटक हो भन्ने लाग्छ,’ प्रचण्डले भने,‘होइन भने पहिला त्यसको अन्वेषण गरौं। प्रमाणित भएपछि सबैभन्दा बढी खुसी मै हुन्छ।’
उनले ओलीले ठगीका आधारमा राजनीति पनि गर्ने गरेको बताए।
'बिहान माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँछु भन्ने, दिउँसो वामदेव गौतमलाई र साँझ मलाई प्रधानमन्त्री बनाउँछु भन्ने प्रधानमन्त्रीको ठगीधन्दा हो,’ प्रचण्डले भने।
उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध नडराई काम गर्न संवैधानिक निकायहरूलाई पनि अनुरोध गरे।