सरकारले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने निर्मल पुर्जा (निम्स) सहित १० आरोहीलाई सम्मान गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज कीर्तिमानी आरोहीलाई सम्मान गरेको हो।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं ९ कार्यालयले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी आरोहीलाई सम्मान गरिएको हो। सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले सम्मान–पत्रसहित केटु आरोहण गर्ने कीर्तिमानी आरोहीलाई सम्मान गर्नुभयो। उनीहरुलाई गौरीशङ्कर –९ कार्यालयले पनि छुट्टै सम्मानपत्र दिई सम्मान गरेको छ।
सम्मानित हुनेमा पुर्जासँगै मिङ्माग्याल्जेन शेर्पा, मिङ्माडेबिड शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, पेमाछिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङ्मा जी, दावातेञ्जिङ शेर्पा र सोनु शेर्पा छन्।
उनीहरुमध्ये सोनु शेर्पा आरोहणका क्रममा पाकिस्तानमा रहेकाले उपस्थित थिए। पाकिस्तान र चीनको सिमानामा रहेको केटु हिमाल (८,६११ मिटर) १० नेपाली आरोहीले माघ ३ गते स्थानीय समय साँझ ५ः१५ बजे आरोहण गरेका थिए।
सो अवसरमा सरकारका प्रवक्ता गुरुङले विश्वकै जोखिमयुक्त हिमाल केटुको सफल आरोहण गरेर नेपाली आरोहीले सिङ्गो देशको गौरव बढाएको बताए। उनले आरोहीको उद्गमस्थलका रुपमा पहिचान पाएको दोलखा जिल्लालाई समृद्ध र विकासको नमूना जिल्लाका रुपमा विकास गर्न आफूले प्रभावकारी योजना र कार्यक्रम ल्याउने जानकारी दिए। दोलखाका सबै सडक कालोपत्रे गरिने र दोलखा भएर उत्तर दक्षिण जोड्ने सडक छिट्टै निर्माण प्रक्रिया अघि जानकारी पनि उनले दिए।
कार्यक्रममा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केटुको कीर्तिमानी आरोहणले नेपालको पहिचानलाई प्रवद्र्धन मात्र नभई पाकिस्तानसँगको सम्बन्धलाई पनि थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश कमिटीका अध्यक्ष पोखरेलले कोभिड–१९ पछिको पर्यटनलाई गतिशील बनाउन सरोकार पक्ष सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिए।
सम्मानितका तर्फबाट अनुभव सुनाउँदै मिङ्माग्याल्जेनले विश्वकै जोखिमपूर्ण हिमालको चुचुरामा पुग्नु जीवनकै अविष्मरणीय क्षण भएको जनाउँदै नेपालको शानलाई विश्वभर फिँजाउन पाएकामा गौरवान्वित भएको बताए।
आरोहण टोलीका नेता पुर्जाले केटु आरोहणले नेपालको पहिचान र गौरवलाई थप उचाइमा पु¥याएको बताए। कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि, प्रख्यात आरोही, पर्यटन व्यवसायीलगायतको उल्लेख्य सहभागिता थियो। रासस