प्रदेश १ स्थित नेकपा प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरूले प्रदेशसभाको बैठक तत्काल सुरू गर्न माग गरेका छन्।
सभामुख प्रदीपकुमार भण्डारीलाई शुक्रबार उनकै कार्यकक्षमा भेटेर उनीहरूले प्रदेशसभाको बैठक लामो समय स्थगन नगर्न ध्यानाकर्षण गरेका हुन्।
मुख्यमन्त्री शेरधन राईविरूद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता छ। तर, यो मुद्दामा प्रवेश नगरी संसद अधिवेशन सुरू भएको दिन माघ ७ मा बैठक तीन मिनेट पनि नचली स्थगित भएको थियो।
प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे लगायत प्रदेशसभा सदस्यहरूले सभामुख भण्डारीलाई भेटेर अबिलम्ब बैठक बोलाउन र अविश्वासको प्रस्ताव टेबुल गर्न आग्रह गरेका हुन्।
प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको एक महिना चार दिन भइसक्दा पनि प्रस्ताव प्रक्रियामा नजाँदा सकारात्मक सन्देश नगएको उनीहरूको भनाइ थियो। पुस १२ मा अविश्वास प्रस्ताव दर्ता भएको थियो।
प्रदेशसभाका एक चौथाइ सांसदहरूले अविश्वासको प्रस्ताव पेश गर्न सक्ने संवैधानिक र कानुनी प्रावधान अनुसार सचिवालयमा दर्ता भएको प्रस्ताव संविधान र कानुनसम्मत भएकोले प्रक्रियामा लैजान अलमल गर्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो।
‘हामी आफ्नो दलमा बहुमतमा छौं। दलको कुरा नगर्दा पनि संविधान अनुसार प्रदेशसभाका २५ प्रतिशत भन्दाबढी सदस्यहरूले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको छ। हामी चाहान्छौं, संविधान र कानुन बमोजिम पेश भएको प्रस्ताव संसदको प्रक्रियामा बढोस्, त्यसका लागि आइतबारबाट सदन सुचारु होस्,’ प्रस्तावक रहेका नेता इन्द्र आङ्बोले भने।
अर्का नेता राजेन्द्र राईले सरकारले विश्वास गुमाइसकेपछि जतिसक्दो छिटो मुख्यमन्त्रीले राजीनामा गर्नुपर्ने र त्यसो नगरी प्रदेशभालाई समेत बन्धक बनाउने कार्य उचित नभएको बताए। सरकारको क्रियाकलापले थिति बिग्रँदै गएको भन्दै उनले सभामुखलाई थिति बसाउने अवसर प्राप्त भएकोले तत्काल प्रदेशसभा बैठकल बसाल्न र प्रस्ताव अघि बढाउन आग्रह गरे।
‘मुख हेरेर मात्र बस्न सकिने अवस्था रहेन। उहाँले छलफल गर्ने, विवाह गर्ने र सोच्ने समय पर्याप्त पाउनुभयो। हामीले पनि पायौं,’ नेता राईले भने, ‘अब यसलाई छिटो प्रक्रियामा बढाउनैपर्छ। अरु उपाय छैन।’
प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले सरकारसँग परामर्श गरेर छिट्टै बैठक बोलाउने आश्वासन दिएको नेकपा नेताहरूले बताएका छन्।