नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली मुलुकमा विध्वंस मच्चाएर तमासा देखाउन तल्लीन रहेको आरोप लगाएका छन्।
विराटनगरमा शुक्रबार जारी विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीले गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्वको संबैधानिक उपलब्धि भत्काउन खोजेर तमासा देखाएको बताएका हुन्। ‘उनी तमासा मात्रै देखाइरहेका छन्,’ नेपालले भने, ‘यो तमासा धेरै चल्ने छैन। अब ओली र उनको गुटमा मातम छाएको छ । उनको हाल ओरालो लागेको अवस्था भएको छ।’
सहकर्मी नेतादेखि न्यायाधीश, पत्रकारदेखि नागरिक समाजसम्मको अपमान गरेर ओलीले आफूलाई राजनीतिक रुपमा तानाशाह सावित गरेको उनको आरोप थियो। ‘तर, अब देशव्यापी रुपमा उनका विरुद्ध उर्लेको जनलहरले त्यो तानाशाही ढाल्नेछ,’ उनले भने ‘सही र न्याय कहिले हारेको छैन। विचरा ओलीसँग कसरी हार्छ?’