नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्।
बुटवलमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै ओलीले माओवादी जनयुद्धलाई 'कुहिएको फर्सी' र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकोमा समेत उनले आक्रोश पोखेका छन्।
पूर्वमाओवादीकै कारण ओली दुई पटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले ओलीलाई चेतावनी दिए।
'जसका कारण तपाईं दुई पटक देशको प्रधानमन्त्री बन्नुभयो’, पुनले भने,'जसको योगदानले दुई पटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी, उही बाँदर?’
माओवादी युद्धमा लागेकाहरू ‘बाँदर’ हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको उनले टिप्पणी गरे।
'तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका ‘दुई बाँदर’ छन्’, पुनले भने ‘दुई ‘ढेडु बाँदर’लाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला?’
पुनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा जननिर्वाचित प्रतिनिधि सभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।
उनले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका ३ सय बढीको समर्थन रहेको माधव नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टी नै मूलधारको नेकपा रहेको दाबी गरे।