संसद विघटनविरूद्धको मुद्दामा रिट निवेदकका वकिलले धेरै समय लिएको भन्दै न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न उठाएकी छन्।
बरिष्ठ अधिवक्ता शेरबहादुर केसीपछि अर्का रिट निवेदक कृष्णभक्त पोखरेललाई बोलाएर उनले यस्तो प्रश्न गरेकी हुन्।
'तपाईँहरूलाई एउटा कुरा सोध्न चाहन्छु। यो मुद्दा तपाईँहरूले कहिलेसम्म लम्ब्याउने हो? समय निर्धारण पनि नगर्ने तर बाहिरबाट अदालतले लम्ब्यायो भन्ने गुनासो आउँछ। एउटै मुद्दामा तीन सय वकिल हुनुहुन्छ कसरी छिटो सकिन्छ?,’ उनले भनिन्।
रिट निवेदकसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य पोखरेलले यो लोकतन्त्र जोडिएको विषय भएकाले धेरैको चासो रहेको बताए।
'हामीले कसैलाई पैसा दिएर बहसमा बोलाएका छैनौं सबै स्वेच्छाले आउनुभएको छ। अब सकेसम्म छोटो बनाउने प्रयत्न गर्छौं,’ उनले भने।
मल्लले पोखरेलसँग कुरा गरेपछि युवराज संग्रौलाले बहस सुरू गरेका छन्। उनले १ घण्टा समय पाएका छन्। संवैधानिक इजलासमा अहिले बहस जारी छ।